काठमाडौँ — सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन ।
कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ । उनीहरुका अनुसार शनिबारसम्ममा सहमती जुटाएर आ–आफ्नो पार्टीमा उम्मेदवार तय गर्न लाग्ने नेताहरुबीच आन्तरिक सहमति भएको छ ।
सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने भन्दै कांग्रेसलाई दवाव दिँदै आएका छन् । उनीहरुले माओवादीले धेरै सिट लिने अडान नछोड्दा सहमतिमा ढिलाई भएको बताइरहेका छन् ।
प्रतिक्रिया