राजनीति

एमाले कहिलेसम्म यस्तो, आफ्नै मुद्दा अदालतमा–आफै संसदमा हंगामा (भिडियोसहित)


काठमाडौँ — पार्टी विभाजनमा सभामुखले सघाएको गम्भीर आरोपसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ २३ यताका सबै सदन अवरुद्ध पारेको छ । तर अदालतमा मुद्दा र संसद्मा अवरोध गरिरहेको एमाले वार्ता र संवाद गर्न भने तयार छैन ।

एकातिर आफैले हालेको मुद्दा अदालतमा विचाराधीन र अर्काेतिर निरन्तरको संसद् अवरुद्ध, न अवरोध फुकाएर संसद् चल्न दिने अवस्थामा एमाले छ, न संसद्बाटै एमालेको माग सम्बोधन गर्ने अवस्थामा सभामुख छन् ।

किनकि संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाको न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषयमाथि संसद्का कुनै पनि सदनमा छलफल गर्न स्पष्ट बन्देज गरेको छ । तरपनि भदौ २३ यताका सबै संसद बैठकलाई निरन्तर तारो बनाएरएमाले आफै हालेको मुद्दा विपरित हुनेगरि संसद्मा बालहट कसिरहेको छ । कतिसम्म भने, गतिरोध अन्त्यका लागि बोलाइएको साझा मञ्चबाट समेत एमाले अलग्गीएको छ ।

गत भदौ २८ मा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमाअनुपस्थित रहेको एमाले गतिरोधलाई निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार बोलाएको सर्वदलीय बैठकमा समेत उपस्थित भएन । फलतः वार्ता र संवादबाट एमाले भाग्न खोजेको निष्कर्षसहितसवर्दलीय बैठक टुङगीयो ।

विहिबार दिउँसो एक बजेका लागि संसद् बैठक आह्वान गरिएका बेला प्रधानमन्त्री देउवाले विहान १० बजे नै सर्वदलीय बैठक बोलाएर गतिरोधको निकास दिने प्रयास गरेका थिए । तर यता सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले उता संसद्मा पुगेर पुनः अवरोध र नाराबाजी गरेपछि बैठक ८ मिनेट मात्र बसेर टुङगीयो ।

मुलतः एमाले विभाजनलाई लक्ष्य बनाएर सरकारले गत भदौ २ मा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गर्न सभामुखलाई सिफारिस गरेका थिए । तर सभामुखले कारबाही नगरी एमाले विभाजनलाई सघाएको गम्भीर आरोपसहित ओलीले सभामुखप्रति असन्तुष्टमात्रै जनाएनन्,सर्वाेच्च अदालतमा रिटसमेत दिएका छन् । जसको फैसला आएको छैन । तर संसद्मा अवरोध जारी छ ।

१४ सांसदलाई गैरसांसद भन्दै संसद्मा निषेध र बर्खास्त नभएसम्म अवरोध कायम रहने अडान राख्दै आएको एमालेले माधव नेपालको पार्टीसहभागी सर्वदलीय बैठकमा उपस्थित नहुने सन्देश प्रधानमन्त्री देउवालाई दिएको छ । दलहरूबीच स्वार्थ बाझिँदा संसदमा पुगेर पनि प्रतिनिधिसभाका ३३ र राष्ट्रियसभाका २७ विधेयकवर्षौदेखि थन्किएरकानून बन्नबाट रोकिएका छन् । अझ एमालेको अवस्था यहीँ रहे देश फरक दिशामा जाने पूर्वसभामुखहरुको भनाई छ ।

सत्तापक्षको सरकार हुने भएकाले संसद् प्रतिपक्षको हो भन्ने गरिन्छ । संसद्बाटै सरकारका कारबाहीमाथि खबरदारी गर्नेदेखि संसद्लाई सहि दिशा दिने काम पनि प्रतिपक्षको हो । तर यसअघि दुई/दुईपटक विघटन गरेर संसद्को विरोधी ठहरिएको एमाले अहिलेअदालतमा मुद्दा र संसद्मा अवरोध गरेर द्वैद्य मानसिकतामा चलिरहेको छ । यसले संसद्लाई नै औचित्यहिन बनाउन एमाले उद्दत बनेको देखिन्छ ।