राजनीति

कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न सकेकोे छैन । कांग्रेसले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा थियो तर शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेश गर्नुभएको थियो भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गर्नुभएको थियो । भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ ।