देश

शुल्क तिर्न ढिलाई गरेको भन्दै प्रधानाध्यापकद्वारा अभिभावकमाथि कुटपिट


काठमाडौँ – विद्यालयको पाँच छ हजार रुपैयाँ शुल्क नतिरेको भन्दै एक प्रधानाध्यापकले विद्यार्थीको अभिभावकलाई कुटपिट गरेको छ । मिर्चैया नगरपालिका – १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रामकुमार साहले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै युकेजीमा अध्ययनरत नवीनकुमार साहका अभिभावकमाथि कुटपिट गरेका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार प्रिन्सिपल साहले बुबा अशोक, आमा सुनितादेवी, दिदीहरू सरिता र अञ्जलीमाथि कुटपिट बताएका छन् । कुटपिटबाट अशोकको टाउकोमा चोट लागेको छ । सरिताको हात भाँचिएको र टाउकोसमेत फुटेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

घाईते दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । कुटपिट गरेका प्रिन्सिपल साह अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।