राजनीति

दार्चुला तुइन घटना : के गरिरहेछ सरकारको छानविन समिति ? (भिडियोसहित)


काठमाडौँ – राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामायीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । तुईन तर्ने क्रममा महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे
मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन् । उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन् ।

सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । सरकारले छानबिन समिति बनाएपनि आजसम्म सत्य बाहिर आउन नसकेको भन्दै विगतमा भएका यस्तै थुप्रै जघन्य अपराध सीमानामा भएका नेपालीहरुले मानसिक र शारीरिक समस्या भोग्दै आएकोमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी सांसद नैनकला ओझाले कालापानी लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटो भन्दा फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा विवाद अघि सारेर सरकारले गरेका राम्रा काममा भाँजो हालेको दाबी गरिन् ।
कालापानी लिपुलेक, लिम्पियाधुराको भारतद्वारा मिचिएको जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा एक्कासी के का लागि असहयोग गर्ने काम भयो ? भन्दै उनले सरकारले छिटो भन्दा छिटो त्यो जमीन ल्याउने पहल गर्न आग्रह गरिन् ।
अर्का सांसद प्रकाश पन्तले अपाङ्गता ऐन कार्यान्वयन गर्ने गरी आएको अपाङ्गता अधिकार सम्बन्धि नियमावलीमा आपत्ति जनाए । उनले यो नियम व्यवहारमा लागू हुने गरी पुनर्विचार र पुनर्लेखन गर्न सरकारलाई सुझाव दिए ।

उनले महासन्धी, संविधान, मौलिक हक र अपाङ्गता अधिकार ऐन कार्यान्वयन गर्ने गरी आएको अपाङ्गता अधिकार सम्बन्धी नियमावलीले सारा विषयहरुलाई सम्बोधन नसकेको र बिनातयारी र बिनाछलफल सरोकारवालाहरुलाई बाहिर राखेर आएको यो नियमावली एकदम आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले अपाङ्गता अधिकार ऐन सरोकारवालाहरुलाई बाहिर राखेर ल्याएको समेत आरोप लगाए ।