राजनीति

एमाले भन्छ ओली राजनेता हुन्, काँग्रेस भन्छ भ्रष्टाचारीको नाइके हुन्


काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसद्बीच आरोप प्रत्यारोप चल्यो । प्रतिपक्षका सांसद्ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता भएको दाबी गर्दै छिट्टै सरकारको नेतृत्व गर्न आउने बताउँदै गर्दा सत्तापक्षका सांसद्ले ओली भ्रष्टाचारको राजनेता भएको आरोप लगाए ।

राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनी पुनः सत्तामा फर्किने दावी गरे । देशले एउटा राजनेता जन्माएको छ त्यो राजनेतालाई पराजित गर्न सम्भव नभएको उनले बताए ।
कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताउँदै भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको दावी गरे । अहिले केपी ओली बालुवाटार छाडेर बालकोट गएपनि राजनीति उनकै वरिपरि घुमेको उनले चर्चा गरे ।
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाए । एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएकोमा त्यसको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले केपी ओली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनिएको खण्डमा स्वीकार्न सकिने बताए ।

भ्रष्टाचारका महानायकले संसद विघटन गरेर संसद समाप्त गरेपछि सांसदहरु नयाँ सरकार बनाउन बाध्य भएको उनले दाबी गरे । ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानु परेको उनले बताए ।
ओली सरकार भ्रष्टाचारमा डुबेको र कोरोना औषधिमा समेत भ्रष्टाचारमा लागेपछि भ्रष्टाचारका महानायक ओलीलाई तह लगाउन अहिलेको गठबन्धन बनेको रायमाझीको दाबी थियो । उनले केपी ओली नेतृत्वको सरकारका पालामा भएको औषधि खरिदको अनियमितताबारे छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् ।