कोरोना विशेष

राहदानी लिन नागरिकको भीड, सरकारले नै कोरोना फैलाएको आरोप (भिडियोसहित)


काठमाडौँ – सरकारले कोरोना संकटको बेला पनि भीडभाड गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्दै आएको छ । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राही जोखिम मोल्दै लाइनमा देखिए । अनलाइनबाटै विद्युतीय राहादानी वितरण गर्ने योजना बनाएको सरकार कार्यान्वयनमा भने वास्तै गर्दैन, त्यसको दुःख भने नागरिकले व्योहोर्नु परेको छ ।

सरकारले चालू आर्थिक वर्षदेखि विद्युतीय राहदानी अनलाइनबाटै वितरण थाल्ने भनेर बजेटमै व्यावस्था गर्यो । तर नयाँ आर्थिक बर्ष सूरु भएको एक महिनासम्म कार्यान्वयन हुन नसक्दा सेवाग्राहि समस्यामा परेका छन् । सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन नागरिक बाध्य छन् ।

मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको गुनासो गरे । आफैले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै नागरिकले चर्को आलोचना गरे । प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन सरकारले नसक्नु दुर्भाग्य भएको उनीहरुको आरोप छ ।

राहादानी बनाउन धनुषाबाट आएका धिरेन्द्रकुमार साह पनि सरकारको नियम र व्यावस्थाले दिक्क छन । दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको उनको गुनासो छ । कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको उनको भनाई छ ।

त्यस्तै, राहदानी नविकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्की पनि राहादानी लिनेको भिडमा भेटीए । उनको पनि गनासो उहि थियो, सरकारले नियम बनाउने तर आफैले उल्लङ्गन गर्ने हुदा कोरोना को त्रासका बावजुत भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था आयो ।

सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भीडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।