राजनीति

ओलीकै बाटो हिड्न थाले देउवा, मन्त्रीमण्डल विस्तारमा कहाँ फस्यो सरकार ?


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिर्गमन गरेर सरकार सञ्चालनको उदाहरण दिने भनेका दलहरुले मन्त्रीमण्डललाई पूर्णता पनि दिन सकिरहेका छैनन् । गठबन्धनभित्रका दलहरुबीचको भागबण्डा र प्रधानमन्त्री देउवाको उदासिनताका कारण सरकार १९ मन्त्रीविहिन छ । बरु साझा कार्यक्रम सार्वजनिक गर्नै गठबन्धनलाई हतारो देखिएको छ ।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिदै थिए । संसदका अधिकांश दलको समर्थन हुनेभएपछि हँसिलो अवतारमा सदनमा छिरेका नेपाली काँग्रेसका नेताहरु सुरुदेखि नै हौसिएका थिए । त्यही भीडबाट नेता मिनेन्द्र रिजालले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति रोष प्रकट गर्दै ओली नेतृत्वको सरकारलाई लक्षित गरि भने, ‘सरकार कसरी चलाउँनुपर्छ अब काँग्रेसले देखाउँछ ।’

दिनको संकेत विहानीले गर्छ भने जस्तै नेता रिजालले साउन ३ मा भनेजस्तो काँग्रेसले चलाएको सरकार हेर्न कतिदिन पर्खिनुपर्ने हो थाहा छैन । तर त्यसयताको २२ दिनसक्दासमेत सरकारले पूर्णता पाउन सकिरहेको छैन ।चारमन्त्रीसहित असार २९ मा प्रधानमन्त्रीको सपथ खाएका देउवाले एक स्वास्थ्य राज्यमन्त्री थपेर ६ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् ।

बाँकी रहेका १९ मन्त्री बनाउने काम देउवाले कहिले टुङग्याउँछन् अत्तोपत्तो छैन । गठबन्धनभित्रका दलहरुबीच भागबण्डा मिलाएर मन्त्रीमण्डललाई पूर्णता दिन चुनौतिपूर्ण बन्दै गएको छ । तर कार्यान्वयन गर्ने मन्त्रीहरु छैनन्, सरकारले गठबन्धनका दलहरु आवद्ध कार्यदलमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

देउवाको मन्त्रीमण्डलमा हाल माओवादी केन्द्रका २ र काँग्रेसका आफुसहित चार मन्त्री छन् । जसपालाई ६ मन्त्रालयसम्म दिने तयारी भएपनि एमालेको माधव नेपाल पक्ष पनि सरकारमा सामेल बनाउने गृहकार्य चलिरहेको छ ।तर सहयात्री दलहरुबीच नै भागबण्डामा समस्या देखिएको र आफ्नै पार्टीको इतर पक्षसंग पनि देउवाले परामर्श नगरेका कारण थप असन्तुष्टि बढेको छ ।

यो बेलाको परिस्थितिलाई आँकलन गर्दै अनिवार्य नियुक्ति गर्नुपर्ने मन्त्रालयसमेत खाली राख्दा देउवा सरकारको प्राथमिकता र गम्भीरतामाथि नै प्रश्न उठेको छ । ओलीकै बाटो हिड्न थाले देउवा, मन्त्रीमण्डल विस्तारमा कहाँ फस्यो सरकार ?