खेलकुद

नेपाली क्रिकेटरले ७७ नम्बरको जर्सी प्रयोग गर्न नपाउने


काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब अन्तर्राष्ट्रिय क्रिकेटमा कसैले प्रयोग गर्न नपाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा ७७ नम्बरको जर्सी अब प्रयोग नगर्ने निर्णय गरेको हो । ३४ वर्षे पारसले गत मंगलबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । पारसले २००४ मा नेपाली टिममा डेब्यू गरेका थिए। ३३ वर्षीय पारसको कप्तानीमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ देखि एकदिवसीय टिमसम्मको सफलता प्राप्त गर्‍यो । उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।

सन् २००२ मा युएईमा भएको यू-१५ एसिया कपबाट पारसले नेपाली टिममा आफ्नो करिअर सुरू गरेका थिए । उनले सन् २००३ मा यू-१९ एसिया कप खेल्दै नेपालको युवा टिममा डेब्यू गरेको थिए । सन् २०१४ मा यू-१९ विश्वकप खेलेका पारसले सोही वर्ष सिनियर टिममा पनि डेब्यू गरेका थिए ।

पारसले २००४, २००६ र २००८ गरी लगातार तीन यू-१९ विश्वकप खेलेका थिए । सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा पारसले डेब्यू गरेका थिए ।

पारसले सन् २००९ को एसीसी टी-२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए । उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए । १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए ।

राष्ट्रिय टिमबाट खेल्दा दर्जनौं कीर्तिमान बनाएका पारसको नाममा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय शतक हान्ने कीर्तिमान छ ।