देश

मेलम्चीका बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई राप्रपाको आग्रह


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट बिस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गर्नु भएको हो ।

बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिनुभयो ।

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।