राजनीति

पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई उपेन्द्र यादवको आव्हान


काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ । अध्यक्ष यादवले विहीबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन आह्वान गर्नुभएको हो ।

अध्यक्ष यादवले प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।

देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मुर्तरुप दिन गम्भिर रुपले लाग्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सम्पूर्ण नेता कार्यकर्तालाई अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै फर्किन आग्रह गर्नुभएको छ ।