राजनीति

राष्ट्रिय सभा बैठकमा सांसद्हरुको जुहारी, दार्चुला घटना र भूमि आयोय विघटनको बिरोध (भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय सभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको प्रकरणदेखि हालै सरकारले खारेज गरेको भूमि आयोग विघटन र सरकार जनादेशको कि परमादेशको भन्नेसम्मका विषयमा चर्चा भए ।

राष्ट्रियसभा बैठकमा सदस्य खिमलाल भट्टराईले एउटै घटनाले सरकारको कमजोर धरातल उदांगिएको बताएका छन् । भट्टराईले दार्चुलामा जयसिंह धामी एसएसबीले डोरी काटिदिएका कारण महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको दाबी गरे । जयसिंह धामी एसएसबीले डोरी काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीले यही बयान दिँदा पनि सरकार भारतसँग जवाफ माग्न किन खुट्टा कमाइरहेको उनको आरोप छ । उनले एसएसबीका जवानलाई कारबाही गराउनसमेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताए ।

उनले केपी शर्मा ओलीले तुइन हटाउने नीति लिए पनि सीमा क्षेत्रको निर्माणमा भारतको पनि सहमति चाहिने हुँदा ढिला भएको भन्दै ओली सरकारको भने बचाउ गरे ।

त्यसैगरी राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सर्वोच्च अदालतले पूर्ववर्ती सरकारलाई ‘सिस्नुपानी लगाएको’ प्रस्ट पारे । उनले संविधानको खिलाप हुने गरी पटक पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले सिस्नुपानी लाउनु परेको बताए । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाका १४६ सांसदको माग बमोजिम नै परमादेश जारी गरेको दावी गरे । त्यो परमादेश संविधानमै टेकेर भएको उनको भनाइ थियो । अदालतप्रति विश्वास थिएन भने मुद्दामा भाग लिन्न भनेर किन नभनेको भन्दै उनले प्रतिपक्षसँग प्रश्नसमेत गरे । आफ्नो पक्षमा निर्णय भए जनादेश, आफ्नो विपक्षमा निर्णय हुनेबित्तिकै परमादेश हुने भन्दै उनले प्रतिपक्षीलाई प्रश्न गरे ।

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए । सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताएका हुन् ।

सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानविन गर्नुपर्ने बताए ।
एक फरक प्रसंगमा श्रेष्ठले प्रतिनिधि सभा विघटनको प्रमुख नायक पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताए । मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यस अघि सरकार चलाउनेहरु पनि भएको उनले जिकिर थियो ।