राजनीति

देउवाले निधिलाई फकाउन खोजे, निधि भन्छन् : छाड्दै छाड्दिन (भिडियोसहित)


काठमाडौँ – भदौभित्रै महाधिवेशन नगरे संवैधानिक संकटको खतरा ब्यहोर्ने अवस्थामा रहेको नेपाली कांग्रेसमा महाधिवेशन अनिश्चितातर्फ धकेलिएको छ । महाधिवेशन आउन एकमहिनाभन्दा कम समय बाँकी रहेका बेला क्रियाशिल सदस्यताको विवाददेखि उम्मेद्वारीसम्मको संकट मत्थर भएको छैन ।

पूर्व कार्यतालिका अनुसार महाधिवेशन हुन्थ्यो भने बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्थ्यो । तर साउन १२ लाई तोकिएको वडा अधिवेशननै स्थगित भएपछि केन्द्रको महाधिवेशनसमेत प्रभावित बनेको छ । केन्द्रबाहेकका सबै अधिवेशन स्थगितकै हालमा छाडेको कांग्रेसले हालसम्म आगामी मिति तय गर्न त सकेको छैन नै, क्रियाशिल सदस्यताको विवाद पनि टुङगाएको छैन ।

साउन १२ गते प्रतिवेदन बुझाएको छानबिन समितिले विवादित जिल्लाको विवाद मिलाउने जिम्मा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई दिएको थियो । तर प्रतिवेदनले संस्थापनइतर पक्ष भने सशंकित बनेको छ ।उसले १४ औं महाधिवेशनका लागि अन्तरिक्षबाट थुपारिएका क्रियाशिल सदस्य नभई १३ औं महाधिवेशनकै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्नुपर्ने बताएको छ ।

कांग्रेसभित्र कतिपयले कोरोना काललाई शून्य समय मानेर भएपनि महाधिवेशन केहि पर सार्न सकिने विकल्पबारे छलफल चलाइरहेका छन् । कतिपयले भने अधिवेशन प्रक्रिया भदौमा सुरु गरेपछि वैधानिकतामाथि प्रश्न नउठ्ने बताउँदै वडा अधिवेशन भदौदेखि सुरु भएर महाधिवेशन कात्तिकसम्म गर्ने बताइरहेका छन् । तर पौडेल पक्षले दुबै विकल्पलाईलाई सहज रुपमा लिएको छैन । मंगलबार क्रियाशील सदस्यताकै विषयमा पौडेल पक्षले छलफल गरेको थियो ।

पार्टीको विधानले प्रत्येक क्रियाशील सदस्यता गाउँ वा नगर वडाबाटै सिफारिस हुनुपर्ने व्यवस्था गरेकाले तद्अनुरुप वडाबाटै आएका क्रियाशील सदस्यतालाई मात्रै मान्यता दिने भन्दै समितिले बुझाएको प्रतिवेदनमाथि प्रश्न उठाएको छ ।उत्तिकै समस्या कांग्रेसमा नेतृत्वका लागि पनि छ । मंगलबार सभापति देउवा र उपसभापति विमलेन्द्र निधीले भेटवार्ता गरेका थिए । निधिले देउवाको साथ खोजेपछि देउवाले पनि अन्तिम पटक आफुलाई सहयोग गर्न र अर्काे पटक ढुक्क हुन सुझाव दिएका थिए ।तर निधि भने देउवालाई छोड्ने पक्षमा छैनन ।

क्रियाशिल सदस्यतादेखि नेतृत्वका लागि चुलिएको विवादकै कारण महाधिवेशन आफु अनुकुल नहुने देखिएपछि नेताहरुले कांग्रेसलाई वैधानिक संकटतर्फ धकेलिरहेका छन् ।

नेताहरुले न महाधिवेशन सार्न सकिरहेका छन्, न महाधिवेशनमा सम्पूर्ण शक्ति खर्चिएर भदौमै महाधिवशेन गर्ने तर्फ ध्यान दिएका छन् । बरु न यता, न उताको अवस्थामा कांग्रेस गुज्रिरहेको छ ।