समाचार

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौँ – आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलासम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले बताए ।

सो बैठकको विषयमा तयारी नपुगेकाले आज स्थगित गरिएको उनको भनाइ छ । केही नेताहरु काठमाडौं बाहिर रहेकाले बैठक भोलिका लागि सारिएको भूषालले बताए । पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बताइएकोछ । बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ ।

एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन् ।