राजनीति

विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी, राजीनामा दिन कार्यकारी निर्देशक शाक्यलाई दबाब


काठमाडौँ – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ । सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घिसिङलाई नियुक्त गर्न राखेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले समर्थन जनाएपछि ऊर्जामन्त्री पम्फा भुसालले प्रक्रिया अघि बढाउनुभएको छ ।

०७७ भदौ २९ गते विद्युत् प्राधिकरणको चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएको थियो । कार्यकाल सकिएपनि घिसिङलाई पुनर्नियुक्त गर्न सरकारलाई दबाब परेको थियो । तर, तत्कालीन केपी ओली सरकारले केही समय प्राधिकरणमा निमित्त कार्यकारीमार्फत काम गरेर अन्तिममा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको, लोडसेडिङ बढ्दै गएको र प्राधिकरणको व्यवस्थापकीय क्षमता पनि कमजोर भएको भन्दै राजीनामा गर्न दबाब बढेको छ ।

ऊर्जामन्त्री भुसालले घिसिङलाई प्राधिकरणमा ल्याउन प्रचण्ड र देउवासँग छलफल गर्नुभएको थियो । शाक्यले राजीनामा नदिए प्रक्रिया पुराएर बर्खास्त गर्ने तयारीमा मन्त्रालय रहेको छ । शाक्यले भने सम्मानजनक व्यवहार नगरे अदालतको साहारा लिने सोच बनाउनुभएको छ ।