राजनीति

माधवले बोलाए केन्द्रीय सदस्यको बैठक


काठमाडौँ – सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका नेकपा (एमाले) नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बैठक हुँदैछ । सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ । त्यसैले केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न नेपालले बैठक बोलाएका हुन् ।

नेता नेपाललाई गठबन्धनमा संलग्न दल कंग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूले निरन्तर भेट्दै छिटो निर्णय गर्न आग्रह गरिरहेका छन् । नेपाल समूहलाई संलग्न गराउने उद्देश्यअनुसारै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरिरहेका छन् ।

नेता नेपाललाई मिलाउने प्रयोजनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खटिइरहेका छन् । दाहालले मंगलबार पनि नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवासमा पुगेर भेटेका थिए । त्यहाँ उनले सरकारमै सहभागी भएर जानुपर्ने धारणा राखेका थिए ।