राजनीति

प्रकाशमानको निवासमा पौडेल पक्षको बैठक


काठमाडौँ – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल हुने छन् । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका बीच पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । देउवा सरकार सन्चालन र महाधिवेशन दुवैको दबाबमा छन् ।

प्रधानमन्त्री पद सम्हालेको तीन साता कटिसके पनि उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । बैठकमा नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीलगायत सहभागी भएका छन् ।