राजनीति

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : मुख्यमन्त्री पोखरेल


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । सोमबार पोखरा उद्योग वाणिज्य संघले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने बताउनुभयो ।

‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्दै सहकार्य गर्न तयार छौं,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले युवाहरुलाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताउनुभयो । राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तर्गतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको पनि उहाँले जानकारी गराउनुभयो ।