राजनीति

तुइन काटेर युवा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न सरकारी टोली दार्चुला पठाइयो : गृहमन्त्री


काठमाडौँ – महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका युवाको सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको टोली दार्चुला प्रस्थान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सभामा सोमबार बोल्दै अनुसन्धानका लागि सरकारी टोली आजै दार्चुला गइसकेको बताउनुभयो । महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहुनभएको छ ।

दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय युवा जयसिंह धामी केही दिनअघि वेपत्ता भएका थिए । अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको आरोप लागेको छ ।