राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौँ – शुक्रबारबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । हिजो बैठक आज ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जारी विवादका कारण केन्द्रीय कमिटी बैठकलाई चासोका साथ हेरिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि यसअघिका बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतमपनि यसपटकको बैठकमा सहभागी भएका छन् र उनले पार्टी एकतामा जोड दिँदै त्यसको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् । तर, बैठकमा नेपाल पक्षका नेताहरुभने सहभागी भएका छैनन् ।

पार्टीलाई ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीमा लैजान २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग नेपाल पक्षले गर्दै आएको छ । पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई ‘डेडलाइन’तोकेका छन् ।