देश

बाढी, पहिरोले घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माण गर्न तत्कालै रकम पठाउछौ : विश्वप्रकाश अर्याल


काठमाडौँ – बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि जानकारी दिनुभयो । यस वर्ष जेठ २८ गतेसम्म शुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो ।

मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्याललले बताउनुभयो ।