देश

सर्लाहीको मलंगवामा सरकारी कार्यालय तथा दर्जनौँ निजी घरहरु डुबानमा


काठमाडौँ – तीन दिनदेखि लगातार अविरल रुपमा परेको वर्षाको कारण सर्लाहीको सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालय तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।

पक्की सडक बनाउने नाउँमा पानीको निकासका लागि नाला नबनाइएका कारण वर्षाको पानी जमेर जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मलंगवा नगरपालिकाको कार्यालय, पुरानो कर कार्यालय, सशस्त्र प्रहरी कार्यालय, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र , पशु कार्यालयलगायत सरकारी कार्यालयहरु तथा निजी घरहरु जलमग्न भएका छन् ।

मुसलेधार पानीका कारण सरकारी कार्यालयहरु डुबानमा परेपछि सेवाग्राही र कर्मचारीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ ।प्रत्येक वर्ष वर्षाको समयमा मलंगवा नगरपालिका क्षेत्रमा सामान्य पानी पर्दा पनि सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् ।