राजनीति

निधि, कोइराला र सिंहबीचको छलफल स्थगित


काठमाडौँ – कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले आज केन्द्रीय सदस्यसँग गर्ने भनिएको छलफल स्थगन गरिएको छ । पछिल्लो केही दिनयता महाधिवेशन केन्द्रित छलफल चलिरहेको कांग्रेसमा नेतृत्वका लागि निधि, कोइराला र सिंहबीच छलफल भइरहेको छ ।

नेता सिंहका अनुसार क्रियाशील सदस्यताको विषय नटुंगिएकाले आजै क्रियाशील सदस्यता छानबिन समिति, पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नुपर्ने भएकाले आजका लागि तय गरिएको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगन गरिएको हो ।

छलफलले प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको सिंहले बताएका छन् । पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर भएको पनि उनले बताएका छन् ।

बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।

तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्‍नुपर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको पनि उनले बताएका छन् ।

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने बताएका छन् ।