मौसम

कहिलेसम्म हुँदैछ वर्षा, कुन क्षेत्र बढी जोखिममा


काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भईरहेको छ । अझै केही दिन मध्यमदेखि भारी वर्षा कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने भएकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

मनसुन भित्रिएसँगै देशभर वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय नदीमा बाढी आउन थालेको छ । कतिपय ठाउमा बाढी पहिरो कारण धनजनको क्षति समेत भएको छ । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्य वर्षा भएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा चार दिन भारी वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने र धेरै वर्षा हुने क्षेत्रमा चट्याङ पर्ने सम्भावना पनि रहेको छ । वर्षाका कारण नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।

वर्षायामको समयमा पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या नभए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्ने हुन्छ ।

वर्षाका कारण जमिन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पु¥याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्छ । त्यसैले पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूले सचेतता अपनाउन जरूरी छ ।