राजनीति

ओली चलाख बन्दा माधवलाई अध्यक्ष बन्ने मौका

निर्वाचन आयोगमा दुबै नेताको हस्ताक्षरबाट मात्रै आउने पत्रलाई वैधानिकता प्रदान गर्ने गरी आयोगमा पत्राचार गर्ने प्रस्ताव माधव पक्षको छ ।


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा परिणत गरेपछि पार्टी २०७५ जेठ २ मा फर्किएको भनिएको छ । तर माधव नेपाल पक्षले ओलीको निर्णयलाई जालझेल र अल्मल्याउने अर्थमा बुझेको छ । बुधबारको निर्णयपछि माधव पक्षले वरिष्ठ नेता नेपाललाई कार्यकारीे अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेपछि एमाले विवाद थप अन्योलपूर्ण देखिएको छ ।

पार्टी भित्रको असन्तुष्ट माधव नेपाल पक्षलाई सोझ्याउनका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरे र नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई निरन्तरता दिने घोषणा गरे ।तर माधव नेपाल पक्ष अझै लिगमा आएको छैन ।घोषणामा २०७५ जेठ २ को पूर्ववत अवस्थामा पार्टी फर्किएको भनिएपनि व्यवहारतः फागुन २८ कै निर्णयमा ओली अडिग रहेपछि माधव पक्षले यसलाई जालझेल र अल्मल्याउने अस्त्रका रुपमा बुझेको छ ।

यसैकारण माधव नेपाल पक्षले ओली समक्ष नयाँ प्रस्ताव अघि सारेको छ । अब माधव पक्षको माग अनुसार एमाले एक हुन जेठ २ को अवस्थामा फर्किएर मात्र पुग्ने छैन, वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यकारी अध्यक्ष बनाउन ओली तयार हुनुपर्ने भएको छ ।किनकि जेठ २ मा फर्किनुमात्रै एकताको मुल मुद्दा नभएको माधव पक्षको दाबी छ । एमाले विवाद समाधान गर्न दुबै पक्षका नेताहरुबीच पटकपटक अनौपचारिक वार्ता र संवाद भएका छन् ।

विवाद समाधानका लागि बनाएको कार्यदलले अनौपचारिक रुपमा वार्ता थालेको लामो समय भएपनि ओली–माधवको मन माझ्न सफल भएको छैनन् । बुधबार पनि वालुवाटारको बैठकले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने निर्णय गरे लगत्तै ललितपुरको होटल समीटमा दुबै पक्षका ५/५ जना गरि १० जनाले छलफल चलाएको थियो । छलफलमा माधव नेपाल पक्षका तर्फबाट संयोजक रहेको नेता भीम रावल सहभागी नभएपछि उनको सट्टामा भीम आचार्य अघि सरेका थिए । जहाँ माधव पक्षले ओली पक्षसंग केही प्रस्ताव अघि सारेको छ ।

जसमध्ये माधवपक्षका २० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने, १० दिनभित्र कार्यदलले पार्टीका सबै तिक्तता मेटाउने गरी ठोस आधार र योजना तय गर्नुपर्ने, काम,जिम्मेवारी,संरचना लगायतका सवालमा समेत नेतृत्व समक्ष सिफारिस प्रस्ताव गर्नुपर्ने, माधवकुमार नेपाललाईकार्यकारी अध्यक्ष बनाएर ओलीलाई प्रथम अध्यक्ष र प्रधानमन्त्रीमा निरन्तरता दिन नेपाल पक्षले प्रस्ताव गरेको छ । त्यसबाहेक निर्वाचन आयोगमा दुबै नेताको हस्ताक्षरबाट मात्रै आउने पत्रलाई वैधानिकता प्रदान गर्ने गरी आयोगमा पत्राचार गर्ने प्रस्ताव माधव पक्षको छ । जसमा ओली लचक भए एमाले एकता जोगिन सक्ने नेताहरुको भनाइ छ ।एमाले एक रहन ओलीमात्र लचक भएर पुग्ने छैन । ओलीसंग बस्नै नसकिने निष्कर्षमा पुगेका वरिष्ठ नेता नेपाल पनि लचक हुनुपर्ने ओली पक्षका नेताहरु बताउँछन् ।

आफुले उठाएका प्रस्तावमा ओली राजी भए माधव पक्षले समेत विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्नुपर्नेछ ।तर नेपालबाहेकका नेतालाई आफूतिर फर्काउने र नेपाललाई जतिसक्दो तर्काउने नीति लिएका ओलीले बुधबारको बैठकमार्फत पनि थप निर्णय लिदाँ एकतामा थप जटिलता आएको नेताहरुको बुझाइछ । तथापी विवाद जहाँको त्यहीँ भएकाले सर्वाेच्चको फैसला अघि ठोस परिणाम आउने भने देखिंदैन ।