समाचार

चितवनको लदरी खोलामा आएको बाढीले पुल भत्कायो


काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्‍याउन थालेको छ । यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ ।

पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ । पूर्व-पश्चिम राजमार्गको पर्साबाट २० मिटर भित्रको उक्त पुल भत्किँदा सैनिक आवासीय विद्यालय जाने बाटो अवरुद्ध भएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिनुभयो ।

अहिले लदरी खोलो पूर्व-पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन् । खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन् ।

बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन् । यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ । यो खोलोले रत्ननगर-८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन् । त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

बुधबारदेखि नै परेक‍ो वर्षाका कारण रातिदेखि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध छ । उक्त सडकमा आधा दर्जन बढी स्थानमा पहिरो खसेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।