राजनीति

कांग्रेस संस्थापक नेताका छोराहरुबीच चौथो पटक औपचारिक छलफल


काठमाडौँ – नेपाली कांग्रेसको चौधौं महाधिवेशनकै सन्दर्भलाई लिएर कांग्रेस संस्थापक नेताका छोराहरुबीच छलफल भइरहेको छ । प्रकाशमान सिंह निवास चाकसिबारिमा भएको गम्भीर छलफलमा सिंहसहित डाक्टर शशांक कोइराला र विमलेन्द्र निधिबीच चौथो पटक औपचारिक भेट भएको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिको पहलमा पहिलो बैठक निधि निवासमा बसेको थियो। निधिपछि पार्टी सभापतिकै अर्का प्रत्यासी रहेका महामन्त्री शशांक कोइरालाले आफ्नो निवासमा तीन नेताको भेटको वातावरण बनाएका थिए। तेस्रो बैठक सिंहकै निवास चाक्सीबारीमा भएको थियो। चौथो छलफल पनि सिंहको निवासमा सुरु भएको छ। सिंह पनि सभापतिका प्रत्यासी हुन्।

निधि शेरबहादुर देउवाको टिममा रहेर लामो समय काम गरे पनि आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी हुन्। उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। सभापतिमा पुनः देउवाले आफूलाई उभ्याएपछि उनले राजनीतिक सहकार्यको नयाँ बाटो सुरु गरेका हुन्। कोइराला पनि देउवाविरुद्ध कसरी एक भएर लाग्न सकिन्छ भन्ने दौडमा नै छन्।

मुलुकको समसामयिक राजनीति र चौधौं महाधिवेशनलाई लिएर वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका छोराहरु एक ठाउँमा उभिएका हुन्। यसअघि यी तीनै नेता अलग अलग रणनीति बनाएर कांग्रेसको नेतृत्व लिन अग्रसर थिए। कांग्रेसको दोस्रो पुस्ताको गठजोडलाई कांग्रेसको आगामी महाधिवेशनमा समीकरणहरु फेरबदल हुने संकेतका रुपमा पनि लिइएको छ। त्यसैले पनि यी नेताबिचको भेटघाटलाई महत्वका साथ हेरिएको छ।