राजनीति

मन्त्रालयको भागबण्डा मिलाउन देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौँ – मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। आईतबारसम्म कुन मन्त्रालय कसलाई दिने भन्नेबारे छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको स्रोतले जनाएको छ ।

कुन मन्त्रालय कसलाई दिने भन्नेबारेमा प्रमुख सत्ता साझेदार दुई दलबीच हालसम्म सहमति भइसकेको छैन। देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। देउवालाई पार्टीभित्र कसलाई कुन मन्त्रालय दिनेबारे कुनै किसिमको दवाव नभए पनि प्रचण्डलाई भने कसलाई कुन मन्त्रालयको जिम्मा दिनेबारे ‘सकस’ छ ।

देउवा सरकारमा अहिले चार मन्त्री र एक राजमन्त्री नियुक्त भएका थिए। माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री भएकी थिइन्। कांग्रेसबाट गृहमा बालकृष्ण खाँड, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ मन्त्री भएका थिए।