देश

पाँच विद्यार्थी संगठनद्वारा दार्चुला घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण, तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग


काठमाडौँ – पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल घटनाको छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका–२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ब्यासबाट नेपाल भएर सदरमुकाम खलंगा आउन सहज बाटो छैन। त्यसैले ब्यासका बासिन्दा महाकालीमा तुइन तरेर भारतको बाटो भएर सदरमुकाम आउने गरेका छन्। यस्तै घटनाहरु भारतसँग सीमा जोडिएका नेपाली जिल्लाबासीहरुले कयौं वर्षदेखि भोक्दै आईरहेका छन् । उनीहरु दैनिक उपभोग्य सामान लिन भारतीय बजार पुग्नु पर्ने र भारतीय मार्गको प्रयोग गर्नु पर्ने बाध्यताका कारण एसएसबीको ज्यादती सहन विवश छन् ।

केन्द्रमा बस्ने नेता र त्यही क्षेत्रबाट निर्वाचन जितेर सांसद बनेकाहरु यी सबै घटनाबारे जानकार हुँदा पनि पुल निर्माण जस्ता कार्यमा चासो नदेखाउदा त्यहाँका बासीले यसरी ज्यान गुमाउने बाध्य छन् । सरकारको यो किसिमको व्यवहारले सीमा क्षेत्रमा बस्ने नेपालीहरु गैरनागरिक भएको महसुस गरिरहेका छन् ।