कोरोना विशेष

सरकारले सबै नागरिकलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारसँग सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

काठमाडौँको नयाँ बजारमा शनिबार बिहान आयोजित एक कार्यक्रममा उनले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोप व्यवस्था गर्न सरकारले विशेष तयारी थाल्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्ने नेता सिंहको भनाइ थियो । प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसकेको भन्दै उनले त्यसैअनुसार काम थाल्न सरकारसँग आग्रह गरे ।

“कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ,” सिंहले भने,“प्रधानमन्त्री, हाम्रो पार्टीका सभापतिले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौँ, काम पनि त्यसैअनुसार हुने छ । ”