राजनीति

संसद् बैठकमा एमसीसीबारे चर्को बहश, पक्ष र विपक्षमा बाँडिए सांसद्हरु


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसिसी)को पक्ष र विपक्षमा सांसद्हरुले आ आफ्नो मत राखे । केही सांसद्हरुले एमसीसीभित्र राष्ट्रघातको बुँदा घुसेको आरोप लगाउँदा केहीले भने दलहरुबीच साझ विदेशनीति नबन्दा समस्या आएको बताए ।
नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताए । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले एमसीसीसँगै भएका अन्य सहायक सम्झौता पनि सार्वजनिक गर्न माग गरे । उनले कुनै सामरिक कुरासँग जोडिएर एमसीसी आए स्वीकार गर्न नसकिने बताए ।

नेपालले असंलग्न परराष्ट्र नीति अंगालेकाले कुनै पनि रणनीतिक कार्यक्रममा संलग्न हुन नहुने बताए । अमेरिकी मन्त्रीहरूले यसलाई हिन्द प्रशान्त रणनीतिको कार्यक्रम भनेकाले यस्ता कार्यक्रममा नेपाल संलग्न हुननहुने रावलको भनाइ थियो । देशको सार्वभौम सत्ता, स्वाभिमान ओझेलमा पर्ने गरी सन्धि सम्झौता गर्नुभन्दा नेपालमा उठ्न बाँकी राजश्व संकलन गरेर अघि बढ्नुपर्ने उनले बताए । संसदबाट सम्झौता अनुमोदन नभई कार्यालय खुल्ने, जग्गा अधिग्रहण गर्ने काम बढेको भन्दै उनले आपत्ति जनाए । नेपालको संविधान र कानुनसँग बाझिनेगरी कुनै पनि अनुदान लिन नहुने उनले बताए ।

त्यसैगरी कांग्रेस नेता प्रदीप गिरिले देशको विदेश नीति आफूलाई उचो देखाएर अरुलाई होच्याउने विषय नभएको बताएका छन् । एमाले नेता भीम रावलले एमसीसीका विषयमा प्रश्न उठाएर राष्ट्रघात हुन लागेको बताएपछि नेता गिरिले त्यसको बौद्धिक प्रतिवाद गरेका हुन् । रावलपछि विशेष समयमा बोलेका गिरीले उनले गणतन्त्रमा आइसकेपछि पनि दलहरुबीच किन साझा विदेश नीति बन्न नसकेको भन्दै प्रश्न उठाए ।

त्यस्तै प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौला पन्तले वर्तमान सरकारबाट नेपाली जनताल थुप्रै अपेक्षा गरेको बताइन् । कोरोनाको महामारीको कारण लाखौँ जनताले रोजगारी गुमाएको र लाखौँ बालबालिकाले पढ्न नपाएको गुनासो गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने कामलाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभा सदस्य दिव्यमणी राजभण्डारीले मधेशी, आदिवासी, जनजाती, अल्पसंख्यक लगायत सबैका हक हितका विषयको कानून तत्काल ल्याउन माग गरिन् । साथै उनले उखु किसानको भुक्तानी नदिएको कुरा आएको बताउँदै गरिब किसानलाई कहिलेसम्म न्याय नदिने हो भन्दै प्रश्न गरिन् ।

प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले श्रृंखलावद्ध किसिमले महिलाहरुको बलात्कार र हत्या भइरहेको बताइन् । उनले हत्या, हिंसा र बलात्कारका घटनाप्रति प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।