राजनीति

क्रियाशील सदस्यता विवाद मिलाउन शीर्ष नेताहरु छलफलमा


काठमाडौँ – बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यतामा देखिएको विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेसँगै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा क्रियाशील सदस्यताबारे देखिएका विवाद समाधान गर्न बैठक राखिएको जानकारी दिए ।

बिहीबार बसेको बैठकले शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका थिए। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए।

कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ। यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ। विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ। अधिवेशनका लागि अर्को मिति तोकिएको छैन।