राजनीति

देउवाले युवा र सक्षमलाई अटाउलान त सरकारमा ? यस्ता चुनौती (भिडियोसहित)


काठमाडौँ – ओलीलाई प्रतिगमनकारीको संज्ञा दिएको तत्कालिन विपक्षी गठबन्धन अहिले सरकारमा छ । उसका सामु ओलीले भन्दा राम्रो काम गरेर तथा ओलीले गरेका गैर संबैधानिक कामलाई सच्याएर आफू सहि भएको प्रमाणित गर्नुपर्ने चुनौती र अवसर दुबै छ ।

जसका लागि कुशल र परिणामुखि काम गर्नेहरुको स्मार्ट टिम आवश्यक भएपनि प्रधानमन्त्री देउवाले मन्त्रीमा नियुक्त गरेका व्यक्तिहरुको आलोचना सुरु भईसकेको छ । आखिर अबको सरकार कस्तो बन्नु पर्ला त ?

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकार भन्दा आफू सक्षम र सहि रहेको प्रमाणित गर्नुपर्ने चुनौति र अवसरका बीच प्रधानमन्त्री बनेका शेरबहादुर देउवाका कदममा आम नागरिकको चासो रहेको छ । विगतमा राम्रो छवी नभएका उनको यो कार्यकाल त्यसलाई सुधार्न मात्र नभई ओलीले गरेका गैरसंबैधानिक कार्य सच्याउन पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

फलत ः देउवाले कस्तालाई मन्त्रीपरिषदमा स्थान दिन्छन तथा परिणाममुखि काम गर्ने दक्ष टिम निर्माणमा कति ध्यान दिन्छन भन्ने कुराले उनको कार्यकाल कस्तो बन्ने भन्ने निर्धारण गर्नेछ । हिजो ओलीले पटक पटक असंवैधानिककदम चालेको भन्दै उनका विरुद्धमा होमिएको गठबन्धनमा रहेकाहरु नै अहिले सत्तामा रहेका छन । तर देउवा प्रधानमन्त्री बनेको लामो समय वित्दासमेत मन्त्रिपरिषद विस्तार नै भएको छैन ।

अब भने गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा लागेको छ । गठबन्धनका शीर्ष नेताको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने गरी भागबन्डा गरेका छन् । तर भागबन्डा मिलेपनि कस्ता व्यक्ती मन्त्री बन्छन भन्ने विषय अझै टुङ्गो लागेको छैन । आफू सरकारमा सहभागी नभएपनि नेपाल समुहले समेत यसलाई चासोका साथ हेरेको छ ।

परिणामत ः प्रधानमन्त्री मात्र नभएर सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल, समर्पित र सिर्जनात्मक चाहिने तर्फ नेता नेपालले देउवाको ध्यान आर्कषण गराएका छन ।

यसअघि प्रधानमन्त्री देउवाले व्यवसायी उमेश श्रेष्ठलाईस्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि धेरैबाट गठबन्धनबाटै असन्तुष्टि व्यक्त भईसकेको छ । राजनीतिलाई किनबेचको बस्तु बनाएको र लामो समयदेखि राजनीतिमा लागेकाहरु माथि अन्याय भएको भन्दै देउवाको आलोचना भएको हो । कांग्रेसकै नेताहरुसमेत श्रेष्ठलाई दिइएको जिम्मेवारीप्रति असन्तुष्ट छन भने देउवाले माफी नै मागिसकेका छन ।

डाक्टर गोविन्द केसीले त उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र समेत पठाएका थिए । तर गठबन्धनका नेताहरु भने यसतर्फ सचेत रहेको बताँउदै आएका छन । योग्य र सक्षम व्यक्ति नै मन्त्री बन्ने तथा एक जनाको नियुक्तीलाई लिएर शंका नगर्न उनीहरुको आग्रह छ । गठबन्धनमा सहभागी दलहरुले सिफारिस गर्नेलाई मन्त्री बनाउनु देउवाको बाध्यता भएपनि निश्चित समयको कार्ययोजना लिने र पुरा नभए हटाउन सक्ने आट राख्नुपर्ने उनीहरुको सुझाव छ ।

यसअघि देउवा चार पटक प्रधानमन्त्री बन्दा सुशासनका मामिलामा कमजोर देखिएकै हुन । उनका हरेक कदममाथि आशंका गर्ने धेरै ठाँउहरु छन् । त्यसैले यो सरकारलाई आफ्नो कार्यसम्पादनको जवाफबाटै यस्ता शंका–उपशंकालाई चिर्नुको विकल्प छैन । अर्कातर्फ ओली सरकारले संविधान र विधिप्रक्रियामाथि आक्रमण गरेकैले यो सरकार बन्ने वातावरण निर्माण भएको हो ।

फलत यो सरकार विधिको शासन र नैतिक राजनीतिको कसीमा अघिल्लो सरकार जति तल नगिर्ने गरी काम गर्नुपर्ने बाध्यता नै छ । त्यसैले पनि स्वच्छ छविका र सक्षमहरूलाई मन्त्रालयलगायतका जिम्मेवारी दिनतर्फ देउवा सचेत हुन जरुरी छ ।