राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, आजै मन्त्रिमण्डल विस्तारको तयारी


काठमाडौँ – सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान सुरु हुँदै छ । बिहीबार बिहान ८ः३० मा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुने कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने खड्काले जानकारी दिनुभयो ।

बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्नेसमेत उहाँले बताउनुभयो । यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो ।