राजनीति

पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै हुन्छ : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै हुने बताउनुभएको छ । ‘महाधिवेशन कुनै पनि हालतमा सर्दैन, तोकिएको मिति भदौ १६ देखि १९ मै हुन्छ, गर्नैपर्छ’, नेता पौडेलले भन्नुभयो, ‘हामी वैधानिक बाध्यतामा छौ ।’ उहाँले महाधिवेशन सार्ने विकल्प सोच्न समेत नसकिने बताउनुभयो ।

काँग्रेसको निर्धारित कार्यतालिका अनुसार साउन १२ गते वडा तहको अधिवेशन हुनुपर्ने थियो । तर हुन सकेन । आगामी साउन १६ गते पालिका तहको अधिवेशन हुनुपर्ने हुन्छ तर वडा तहकै अधिवेशन नभएपछि पालिका तहको अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।

क्रियाशील सदस्यता विवादबारे काँग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनबारे छलफल भए पनि विवाद भएको विषय मिलाउन पदाधिकारी बैठकले पुन छानबिन समितिलाई नै २४ घण्टे म्याद दिएर मिलाउन भनेको छ ।