राजनीति

कांग्रेस क्रियाशील सदस्य प्रतिवेदन विवाद : सभापतिका आकंक्षीले नै गरे ‘नोट अफ डिसेन्ट’


काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको विवाद टुङग्याउन र छानबिन गर्नबनेको समितिले आज सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

विवाद समाधान गरेर महाधिवेशन हुनु भन्दा ६ महिना अघि नै प्रतिवेदन बुझाउनुपर्ने भएपनि समितिले झण्डै एक महिना बाँकी रहेका बेला समेत विवाद ज्यूँका त्यूँ राखेर केन्द्रीय कमिटीलाई जिम्मा लगाएको छ ।

मंगलबार क्रियाशिल सदस्यता छानबिन समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन अनुसार नेपाली कांग्रेसमा चार लाख ९ हजार ३३ नयाँ क्रियाशिल सदस्य थपिएका छन् ।१३ औं महाधिवेशनका ४ लाख ४३ हजार ६ सय ७८ क्रियाशिल सदस्य रहेकोमा चार लाख ९ हजार ३३ संख्या थपिएपछि कुल क्रियाशिल सदस्यको संख्या ८ लाख ५२ हजार ७ सय ११ पुगेको छ ।

कांग्रेसले १४ औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको हो । छानबिन समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४ सय ३८ अर्थात ७४ प्रतिशत पुरुष छन् भने १ लाख ९९ हजार ९७अर्थात २२ प्रतिशत महिला क्रियाशिल सदस्य संख्या रहेको छ ।

अन्य अन्तर्गत १ सय ७६ क्रियाशील सदस्य छन् । जसमध्ये ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झण्डै तीन लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार सात सय ७४ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ४१ देखि ६० वर्षका ३ लाख २८ हजार २३४ छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार सात सय ८२ जना छन् ।

कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ ।पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन र त्यस सम्बन्धमा आएका उजुरी र गुनासो सम्बोधन गर्न गठित छानवीन समितिले मंगलबार पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको उपस्थितिमा सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । तर विवाद भने ज्यूँका त्यूँ देखिएको छ । समितिले केही निर्वाचन क्षेत्रमा देखिएका समस्या र अरु पार्टीबाट प्रवेश गरेकाहरुको क्रियाशील सदस्यता छानबिन पार्टीको केन्द्रीय कमिटीको जिम्मा छाडेको छ ।

छानबिन समितिले समयम विवाद समाधान गर्न नसक्दा साउन १२ मा तोकिएको वडाअधिवेशन नै स्थगित भएको छ ।बल्लतल्ल बुझाएको प्रतिवेदन पनि केन्द्रीय समितिले बनाएको मापदण्डविपरित भएको भन्दै कतिपय नेताले असहमति जनाएका छन् । केन्द्रीय सदस्य समेत रहेका नेता कल्याण गुरुङले वडातह, स्थानिय, प्रदेश,पार्टीको प्रतिनिधिसभा निर्वाचन र जिल्ला कार्यसमितिले प्रमाणित गरेको विवरण विनै छानबिन समितिले प्रतिवेदन तयार पारेको भन्दै असहमति जनाएका हुन् ।

केन्द्रीय नेतृत्व चयनका लागि क्रियाशिल सदस्य नै निर्णायक हुने भएकाले यससम्बन्धी परेका गुनासो र उजुरी सम्बोधन गर्न समिति बनेको हो । जसले विवाद समाधान गरेर पार्टीको महाधिवेशन हुनुभन्दा ६ महिना अगावै सभापतिलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । तर क्रियाशिल सदस्य सम्बन्धीको विवाद केही जिल्लामा कायमै छोडी समितिले केन्द्रीय कमिटीलाई जिम्मा लगाईदिएको हो ।