अर्थनीति

सर्लाहीमा ह्यारिङ्ग सेन्टरको स्थापना, किसानमा खुसीयाली (भिडियोसहित)

के-के पाइन्छ ह्यारिङ्ग सेन्टरमा ?


काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकामा प्रबिधि र प्राविधिकलाई उपयोग गर्दै प्रदेश नम्मर–२ कै सबैभन्दा ठूलो कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना भएको छ । ह्यारिङ्ग सेन्टरको स्थापनापछि समय र लागत कम हुने भएपछि स्थानीय किसानहरु खुसी देखिएका छन् ।

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न तथा कृषि पेशालाई मर्यादित एवं व्यवसायीक बनाउने उदेश्यले सर्लाहीको बागमती नगरपालिका वडा न–१० शंकरपुरमा स्थानीय साना किसान कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना गरेको छ । सेन्टरको प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका छन् ।

कष्टम ह्यारिङ्ग सेन्टरको उद्घाटन गर्दै मन्त्री साहले सेन्टरको स्थापनाले किसानको लागत मूल्यमा ३५ देखी ४५ प्रतिशत सम्म घट्ने बिस्वास व्यक्त गरे । प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्ने मन्त्री साहले बताए ।

चर्को मूल्य तिरेर हलो र ट्याक्टरको भरमा खेती गर्दै आएका किसानहरु उक्त कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ्ग सेन्टर मार्फत कृषि कार्यको लागि आफ्नै गाउँमा कृषि यन्त्रहरु उपलब्ध गराउने भएपछि खेती गर्न सजिलो हुने भन्दै खुसी भएका छन् । यसबाट कृषि कार्यमा लागत कम लाग्ने, उत्पादित वस्तुको सुरक्षित भण्डारण हुने र कृषि पेशा मर्यादित एंव व्यवसायिक हुने स्थानीय किसानहरुले विश्वास लिएका छन ।
किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकार कृषि विकास निर्देशनालय नक्टाझिंज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

निर्देशनालयले अनुदान वापत दिएको १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया तथा संस्थाको १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया गरि जम्मा २ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैयाको लागतमा कृषि यन्त्रहरु खरिद गरि स्थापना गरिएको कष्टम ह्यारिङ्ग सेन्टरमा ट्याक्टर, पावर टेलर, माटो मिलाउने, मिनी टेलर, मकै रोप्ने मेशिन, ट्रली, कम्बाइन्ड हाबेष्टर, बोरा सिलाउने मेशिन, रोटा भेटर, एम्बी प्लग, ४ डिक्स ड्यारो, कल्टी भेटर, धानको बिउ राख्ने मेशिन, प्लाष्टिक ट्रे, स्टार रिपर, धान रोप्ने मेशिन र रिपर लगायतका यन्त्रहरु राखिएका छन् ।

धान रोप्न प्रति बिगहा खाना र खाजासहित करिब १० हजार र मलको छुट्टै खर्च हुँदै आएकोमा धान रोप्ने मेशिन आएपछि अब ६ हजारमा काम हुने सेन्टरका संयोजक महतोले बताए । धान कटाई र दाउनी गर्दा प्रति बिगहा १२ हजार खर्च हुँदै आएकोमा सहकारीले ल्याएको कम्बाइन्ड हाबेष्टरबाट ८ हजारमै काम हुने उनले बताए । त्यस्तै मकै काट्न, ढुवानी गर्न र दाउनी गर्न प्रति बिगहा २५ हजार रुपैयाँ खर्च लाग्दै आएकोमा आधुनिक यन्त्रबाट मात्र १० देखि १२ हजार रुपैयाँमा काम हुने छ ।