देश

कोरोनाको तेस्रो लहर आउन नदिन सांसद्ले गराए सरकारको गम्भीर ध्यानाकर्षण (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा कोरोनाको तेस्रो लहर आउन नदिनेबारे सचेत रहन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । महिला तथा सामाजिक समितिकोे बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढी, पहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुका लागि आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरे ।

कोरोना, बाढी, पहिरो पीडितले कतिपय ठाउँमा भोकभोकै मर्नुपर्ने अवस्था आएको भन्दै उनल त्यस्ता पीडितहरुका लागि तत्काल गाँस र बासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ज्वारचनले समितिले पनि बाढी, पहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरुलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

नेकपा एमालेकी सांसद एवम् पूर्व मन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन् । बालबालिकाहरु दूव्र्यसनीमा फस्ने क्रम कोरोना कालमा झनैै बढदै गएको उल्लेख गर्दै उनले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने पनि स्पष्ट पारिन् । उनले कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरुसँग छलफल गरी सरकारले ठोस योजना ल्याउनुपर्ने बताइन् ।

समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद हिरा गुरुङले बालिकाहरुमाथि बलात्कार पछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोस व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको दृष्टान्त समितिको बैठकमा पेश गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भिर नभएको आरोप समेत लगाइन् ।

बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदहरुले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाईजो दिने जस्ता काममा अन्त्य गर्न सामाजिक अभियाननैै चलाएर अघि बढन सरकारको ध्यानाकर्षण गराएका थिए ।