समाचार

पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग सिन्धुपाल्चोकका बाढीग्रस्त स्थानीयको माग



काडमाडौँ –बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरुलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले घरवारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरुलाई तत्काल आर्थिक राहतको प्रवन्ध गर्न माग गरेका छन् । त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताउनुभयो ।

उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद समेत दिएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न पनि माग गरेका छन् ।