राजनीति

माधवले ओलीका सांसदलाई भने, राजीनामा दिएर निस्किनुस् ! (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत आज बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक विषयमा प्रवेश गर्न नपाई सकिएको छ । बैठकमा एमालेका सांसदहरुबीच भनाभना भएपछि बैठक विषयमा प्रवेश नगरी सकिएको हो ।

सडक र सदनमा भिड्दै आएका एमालेका सांसदहरु आइतबार संसदीय समितिमै भिडे । आफै सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रमाउँदैआएका एमाले सांसदहरुले आइतबारको संसदीय समितिमा हात हालहाल गर्न मात्रै बाँकी राखे ।

आइतबार दिउँसो सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेकपा एमाले ओली पक्षका सांसद नारदमुणि रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार अदालतले बनाईदिएको भनेपछि माधव पक्षका सांसदहरु तत्कालै प्रतिवादमा उत्रिए ।

अदालतको परमादेशबाट बनेको सरकार भनेर ओली पक्षका सांसदले अभिव्यक्ति दिएपछि माधव पक्ष, कांग्रेस र माओवादीका सांसदहरु रिसले आगोआगो बनेका हुन् ।बैठकमा ‘प्रतिगामीहरु बाहिर निस्किनु पर्छ, संविधान मिच्नेहरुलाई बोल्ने अधिकार छैन’भन्नेसम्मको आवाज सुनिन्थ्यो । जसमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसमेत ओली पक्षका सांसद नारदमुनि रानातिर औला ठड्याएर कड्किएका थिए ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल्लो लहरमा समितिका सभापति पवित्रा निरौलासँग बसेका नेता नेपालले प्रतिनिधि सभा पुनः स्थापना भएकोमा खुसी व्यक्त गरेका थिए । उनले संसद ब्यँुताउन संघर्ष गर्नु परेको समितिलाई जानकारी गराए ।

लगत्तै ओली पक्षका सांसद रानाले ‘केपी ओलीले विश्वासको मत लिदा कहाँ थिए’ भन्दै ब्यङग कसे । जो आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिदा घरमै सुतिरहेका थिए, उनैले संसद् ब्युँतियो भनेर कराउनुको औचित्य छैन भनेर नेता नेपाललाई कटाक्ष गरेपछि सांसद दीपप्रकाश भट्टले रानालाई ‘प्रतिगमनको मतियार’ भन्न भ्याए । उनले प्रतिगमनको मतियार बाहिर जानुस् भन्दै थप आक्रोश प्रकट गरे ।

वरिष्ठ नेता नेपाल पनि रानालाई राजीनामा दिएर निस्किनुस् भने । उनलाई कांग्रेसका सांसदहरुले पनि साथ दिए । सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै आक्रोश पोखे ।उनलाई समितिकी सभापति निरौलाले पनि साथ दिइन । रानासंगै बसेकी माधव पक्षकी सांसद सरला यादवले ‘तपाईँ को हो ?जे पायो त्यहीँ बोल्ने’ भन्दै रानालाई हकारिन ।

यतिकैमा नेता नेपालसहितका सांसदहरु निस्किए, बैठक विषयमा प्रवेश नै गर्न नपाई सकियो । प्रतिनिधिसभा पुनःस्थापनापछि बल्लतल्ल बसेको बैठक पनि विषयमा प्रवेश नै नगरी सांसदहरुको झगडाले प्रभावित बनेको हो । कानुन र नीति निर्माणका लागि छलफल गर्ने थलोमै एमालेको विवादले चरम रुप धारणा गरेको देखिन्छ ।जुन अन्त्यन्तै विडम्बनापूर्ण र दुखद हो ।