विदेश

तालिबानलाई रोक्न अफगानिस्तानको अधिकांश क्षेत्रमा कर्फ्यू


काठमाडौँ – अफगानिस्तानका अधिकांश क्षेत्रमा सरकारले कर्फ्यू लागु गरेको छ । तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेपछि त्यसलाई रोक्ने प्रयास स्वरुप अफगान सरकारले ३१ प्रान्तमा कर्फ्यू लगाएको हो ।

राजधानी काबुल र अरु दुई प्रान्त बाहेकका क्षेत्रमा राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू लागु गरिएको छ । पछिल्लो दुई महिनादेखि तालिबान र सरकारी सुरक्षा बलबीचको भिडन्त बढ्दै गएको छ । अमेरिकीसँगै नेटोमा आवद्ध सैनिकहरु अफगानिस्तानबाट फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो गतिविधि बढाएको छ ।

बिद्रोही समूह तालिबानले अफगानिस्तानको आधा भागमा आफ्नो नियन्त्रण कायम गरेको अनुमान गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । २० वर्षपहिले अमेरिकाको सैन्य हस्तक्षेपपछि तालिबान अफगानिस्तानको सत्ताबाट बाहिरिएको थियो ।