राजनीति

उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै


काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा उत्पन्न विवाद निरूपण गर्न सोमबार कार्यकारिणी समितिका सबै सदस्यलाई कार्यालयमा बोलाएको छ। आयोगले पार्टीको आधिकारिकता विवादको विषयमा टुंगो लगाउन कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न कार्यालय बोलाएको हो ।

को आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै यता महन्थ ठाकुर पक्ष भने निर्वाचन आयोगको यस कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । यदि रिट निवेदनमा आज आईतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरू थपिने पक्का भएको छ ।

अहिलेसम्म जसपाको ताजा अंक गणित हेर्ने हो भने यादव पक्ष बलियो देखिएको छ । कार्यकारिणी समितिका यादवको पक्षमा ३२ जना र ठाकुर पक्षमा १९ जना रहेको खुलेको छ। ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन्। ठाकुर पक्षका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा छन्। हेड काउन्टमा उनी जाने अवस्था छैन। यादव पक्षका एक नेताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म ठाकुर पक्षका केही कार्यकारिणी सदस्यहरूले यादवको पक्षमा जाने बताएका छन्। जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र ठाकुर पक्षमा विभिाजित भएका छन्।