राजनीति

मानसिक तानवमा प्रचण्ड : मन्त्री भागबण्डा लगाउन दलहरुको लफडा (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुईसाता वित्न लाग्यो । तर मन्त्रालय बाँडफाँडको विषय टुङगीएको छैन । जसले सरकारका कामकारबाही प्रभावित हुने मात्रै होइन, नेताहरुमा समेत मानसिक तनाव उत्पन्न गराइदिएको छ ।निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सत्ता खोस्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको ताज पहि¥याउन किङग मेकर बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाब र मानसिक तनावमा देखिएका छन् ।

ओली सरकार ढालेर सत्तालाई आफु अनुकुल बनाउन सफल देखिएकाप्रचण्डलाई आफ्नै पार्टीका जम्माजम्मी ४९ सांसदमध्ये सबैले मन्त्री हुने चाहना व्यक्त गरेर ढोका ढकढक्याउन थालेपछि तनाव ब्यहोर्नु परेको हो । मन्त्री बन्न पाए नेतृत्व सही देख्ने मन्त्री बन्न नपाए नेतृत्व सबैभन्दा खराव देख्ने विकृती पार्टीमा मौलाएकोमा प्रचण्डदुखी बनेका हुन् ।

माओवादीमा अहिले ४९ सांसद छन् । देउवा नेतृत्वको सरकारमा माओवादीको भागमा धेरै पाए सात मन्त्रालयको जिम्मेवारी आउने सम्भावना छ । देउवाले बढीमा ६ मन्त्री नबढाई नाम दिन प्रचण्डलाई आग्रह गरेका छन् । त्यसमध्ये माओवादीका तर्फबाट जनार्दन शर्माले अर्थ र पम्फा भूसालले उर्जाको जिम्मेवारी सम्हालिसकेका छन् । अब बढीमा ४ या ५ मन्त्री माओवादीले पाउनेछ । तर ४९ सांसदले नै मन्त्री बनाईदिन दबाब दिएपछि प्रचण्डले ४–५ दिनयता मानसिक तनाव ब्यहोरेको दुखेसो प्रकट गर्नु परेको हो ।यस्तै अवस्था सरकारवादी गठबन्धनभित्रका अन्य दलमा पनि छ ।

स्वयम् सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र मन्त्री बाँडफाँडको कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । अन्य दलजस्तै कांग्रेसभित्रका दुई समुहलाई मिलाएर जानुपर्ने चुनौति देउवामा छ । बढीमा आठ मन्त्रालयको भाग कांग्रेसले पाउने भएपनि उपप्रधानसहित ४ मन्त्रालय मागिरहेको रामचन्द्र पौडेल पक्षलाई देउवाले एक मन्त्रालय दिन खोजेपछि वरिष्ठ नेता पौडेलले ठाडै अस्वीकार गरिदिएको नेताहरु बताउँछन् । यसैपनि पौडेल पक्षले५ मन्त्रालय पाउने कुनै सम्भावना छैन । देउवाले आफ्नो पक्षका बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री दिइसकेकाले अब बाँकी रहेका ६ मन्त्रालयमा संस्थापनसहित पौडेल र सिटौला पक्षको चित्त बुझाउनुपर्नेछ । यसले कांग्रेस भित्रै लफडा शुरु गरेको छ ।

देउवालाई समर्थन गरेको जसपाका दुबै पक्षले सरकारमा जान खुट्टा उचालिरहेका छन् ।बढी पाँच नभए चार भएपनि पुग्ने अवस्थामा रहेको जसपामा उपेन्द्र यादव पक्षले आफुलाई हकदार दाबी गरिरहेको छ । तर जसपा आधिकारिकताको विवाद निर्वाचन आयोगमा अड्कीएका बेला प्रधानमन्त्री देउवाले निर्णय पर्खिएका छन् । यद्यपीनिवर्तमान प्रधानमन्त्री ओलीको सरकारमा सामेल भएको महन्थ ठाकुर पक्षले पनि देउवालाई समर्थन दिएकाले दुई मन्त्रालय पाउन लबिङ शुरु गरेको छ ।तर यादव पक्षले जसपाको भागमा आउने मन्त्रालयमा महन्थ ठाकुर पक्षको हक दाबी नहुने बताउँछ ।

कांग्रेस, माओवादी र जसपासहित देउवाले प्रमुख विपक्षी दल एमालेको माधवकुमार नेपाल पक्षलाई समेत पाँच मन्त्रालय दिने तयारीमा छन् । तर यो पक्षले हालसम्म सरकारमा जाने निक्र्याेल गरेको छैन ।फ्लोरक्रस गरेर आफुलाई विश्वासको मत दिएका २२ सांसदमध्ये केहीलाई मन्त्री बनाउन पाए गुण तिरिने देउवाको मनशाय छ । उस्तै समर्थन गरेको राष्ट्रिय जनमोर्चालाई समेत एक मन्त्रालय दिने तयारी छ । तर मन्त्रालय कम, आकंक्षी धेरै भएपछि सरकार परिवर्तन भएको दुईसाता पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

संविधानको व्यवस्था अनुसार २५ भन्दा बढी मन्त्री बनाउन पाईने व्यवस्था छैन । जसमा माओवादीका दुई र काग्रेसका दुई गरि चार मन्त्रीसहित देउवालेअसार २९ मा सपथ लिएका थिए । बाँकी रहेका २० मन्त्रालयमा पाँच दलीय गठबन्धन भित्रका दलहरुलाई दामाशाही भागबण्डा मिलाउनै सकस परेको छ । यसले गठबन्धनभित्रका दलहरुबीच किचलो आई सन्तुलन विग्रीने खतरासमेत देखिएको छ ।