समाचार

सुरक्षाकर्मीको हवाई आक्रमणमा ३० जना लडाकूको मृत्यु



काठमाडौँ – सुरक्षाकर्मीको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जना लडाकूको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबै जना तालिबान लडाकूहरू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा अरू १७ जना घाइते समेत भएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।

मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरूको आश्रय स्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए । त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीले सवारीसाधनहरू, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरूले प्रयोग गर्ने गरेको सामग्रीहरू पनि बरामद गरेका छन् ।

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरू भइरहे पनि टुंगिन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।