राजनीति

कांग्रेस पदाधिकारीको बैठक बुठानीलकण्डमा बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनलगायतको विषयमा छलफल गर्न आज बिहान ९ बजे पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनको काम टुंगो लागिनसकेका कारण कार्यतालिका हेरफेरबारे छलफल भएको थियो। बैठकमा वडाको अधिवेशन ४ दिन पछाडि धकेलेर साउन १६ गर्ने र अन्य तहको अधिवेशन तोकिएको समयमा गर्नेबारे छलफल भएको हो। यो विषयमा आज टुंगो लाग्ने बताइएको छ।

कांग्रेसले यही साउन १२ गते गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। तर‚ सदस्यता विवाद कायमै रहेकाले मिति सार्नेबारे छलफल भएको नेताहरुले बताएका छन्। बैठकमा अन्य समसामयिक विषयमा छलफल गरी स्पष्ट धारणा तय गर्नेछ। बैठकले धारणा बनाइसकेपछि केन्द्रीय कार्य समिति बैठक बोलाउने तयारी छ।