समाचार

कता जाला अबको शेयर बजार ? नयाँ सरकारलाई पत्याएको हो ?


काठमाडौँ – नेपाली शेयर बजार पुनः सुधार हुन थालेको छ । केहि दिन सुस्ताएको नेप्से सुचक यो साता भने १२० अंकले बढ्दै ३ हजार विन्दु पार गरेको छ । साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएका ले बजार बढेको विश्लेषण गरिएको छ ।

केहि दिन सुस्ताएको नेपाली सेयर बजारमा पुनः चमक देखिन थालेको छ । बजारलाई यो साता भर बाणिज्य बैंकले लिड गरे । बैंकहरुमा लगानीकर्ताको चाम बढे सँगै नेप्से सूचक फेरि ३ हजार विन्दु माथि आइपुगेको छ । यो साता बजार ४ दिन मात्रै खुल्यो । बुधबार भने इदको सार्वजनिक विदाका कारण बजार खुलेन भने अन्य दिन बजारमा चमक देखियो । साताको पहिलो दिन नै करिव १०० अंकले वढेको बजारमा सोमबार पनि १४ अंकले बजार बढेको थियो । तर साताको तेस्रो दिन मंगलबार भने बजारमा सामान्य अंकको गिरावट आयो । इदको सार्वजनीक विदाका कारण बुधबार भने बजार बन्द नै रह्यो भने साताको अन्तीम दिन बजारमा उच्च सुधार आएर बन्द भएको छ ।

समग्रमा यो साता अघिल्लो साताको तुलनामा नेप्से सुचक १२० दशमलव ६७ अंकले बढ्दै ३ हजार ४ दशमलव ३३ अंक बन्द भएको छ । त्यस्तै कारोवार रकम पनि यो साता अघिल्लो साताको तुलनामा बढेको छ । साताभर कारोवार रकम ४२ अर्व ४५ करोड भन्दा बढी भउको छ । त्यस्तै अघिल्लो साताको तुलनामा बजार पुजीकरण पनि १ खर्ब ६८ अर्ब २१ करोडले बढ्दै ४१ खर्ब ७९ अर्ब १७ करोड नाघेको छ । बिहीबार बजारले लगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने ३ हजार विन्दुलाई सजिलै पार गरेको छ । यसअघि नेप्से सूचक जेठ ३१ गते ३०२५.८३ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजार करेक्सनतर्फ लागेको थियो । तर इन्ट्रा डे हाइ भने अझै बढी पुगेको थियो । बैंकहरु क्रमशः अघि बढ्न थालेका छन् ।

साउन महिनाको पनि करिब एक साता बितिसकेको छ । यो सेयर बजारको प्रमुख सिजन पनि मानिन्छ । यतिबेला सेयर होल्ड गर्दा निकै छोटो समयमा लाभांश पाइने भएकाले पनि लगानीकर्ता बढी आकर्षित हुने गर्छन् । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थालेको छ । प्रारम्भिक संकेतहरु सकारात्मक देखिएका छन् । यसले पनि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् । लामो समयदेखि सुस्त बनेको वाणिज्य बैंकहरु अघि लाग्दा समग्र बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । लगानीयोग्य रकम सजिलै उपलब्ध हुने भएपछि बजार पनि उत्साहित देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन् । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीति आउन केही विलम्ब हुने बताएको छ । तथापि, अहिलेको योजना अनुसार नीति आएमा पुँजी बजारलाई खासै नकारात्मक असर पर्ने विषय नआउने विज्ञको भनाई छ ।