देश

सुजिता मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा ठूलो बुबाको छोरा पक्राउ


काठमाडौँ – पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका ठूलो बुबाका छोरा नातामा दाइ पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको छ ।

सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । सुकदेवलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो । सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टमासमेत उनको हत्याको कारण खुल्न सकेन । पछि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गरिएको थियो । भिसेराको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन ।