राजनीति

देउवा संविधानको मर्म अनुसार नै प्रधानमन्त्री बनेको प्रकाशमानको दावी, ढाकछोप नगर्न एमाललेलाई चेतावनी


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिनु भएको छ ।


नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दावी गरिरहेका बेला कांगेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनि प्रश्न गर्नु भयो । उहाँले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हटन बाध्य भएको दावी समेत गर्नु भयो । शुक्रबार पतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाईँ दिँदै उहाँले भन्नु भयो, “संविधानको मर्म र भावना अनुसार देउवा प्रधानमन्त्री बन्नु भएको हो । विद्वान् भन्छ, आफूलाई कानुनविद् भन्छ, कानुनको विद्यार्थी भन्छ, संविधानमा धारा ७६ (५) राख्ने, अनि अहिले आएर चाँही सोही धारा अनुसार देउवा प्रधानमन्त्री बन्दा विधि, संस्कार र मूल्य, मान्यताको कुरा गरेर हुन्छ ? आफूले कार्यपालिकाको नेतृत्व गर्दा विधि र नियम मिच्ने, अनि जब्बरजस्त विधि र प्रक्रिया नअपनाई निर्वाचनमा जान प्रयास गर्ने, त्यसपछि दलहरुले मिलेर कानुनी र राजनीतिक दुवै बाटोबाट लडाई लडी संविधानको रक्षा गर्दा विधिको कुरा गर्ने ?”

नेता सिंहले ओली नेतृत्वको सरकारले गैरजिम्मेवार काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई त्यसबाट पाठ सिकेर अघि बढन पनि आग्रह गर्नु भयो । उहाँले कोरोना खोपको आवश्यक व्यवस्थापन गर्न, मुलुकमा भाइरसकै रुपमा रहेको भ्रष्टचारको अन्त्य गरी मुलुकको संकट समाधान गर्न प्रधानमन्त्री देउवालाई सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेता सिंहले जनतालाई राहत दिने तथा संघीयतालाई संस्थागत गराउने गरी ल्याइएका विधेयकहरुलाई संसदबाट छिटो पारित गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता सिंहले नेपालको परराष्ट्र सम्बन्ध सुधार्न पनि प्रधानमन्त्री देउवालाई सल्लाह दिनुभएको छ । दुई छिमेकी सँगको सम्बन्ध समेत कमजोर भएकोले समान ब्यबहार र सन्तुलित सम्बन्ध राख्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।