राजनीति

२२ सांसदलाई सोधिएको स्पष्टीकरणको समय सकिदै, के होला त कारवाही ?


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई सोधिएको स्पष्टीकरणको समय सकिँदै छ ।

यसअघि २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीबारे निर्णय हुने बताइएको थियो । बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेताहरूलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन हुन सक्ने बताइएको छ ।

यता माधव नेपाल पक्षका सांसदले भने स्पष्टीकरणको जवाफ नदिने बताइसकेका छन् । नेपाल पक्षका नेताले स्पष्टीकरणको औचित्य नरहेको बताउँदै यस्ता गतिविधिले आन्तरिक विवाद समाधान हुनुको साटो झनै विवाद बढाउने बताउँदै आएका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठक ४ गतेदेखि जारी छ । ललितपुरस्थित च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेको छ । यसअघिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन समेत आग्रह गरेका छन् ।