देश

भिन्दाभिन्दै स्थानको नहरमा डुबेर पाँच जनाको मृत्यु


काठमाडौँ – चितवन र बाँकेमा नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । चितवनमा दुई र बाँकेमा तीन जनाको मृत्यु भएको हो ।

१६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी उनीहरु बुधबार अपराह्नतिर क्रिकेट खेलेर हातखुट्टा धुन जाँदा निहरमा डुबेको प्रहरीको भनाई छ । हातखुट्टा धुने क्रममा विवेक चिप्लिएपछि उनलाई बचाउन जाने क्रममा अंकित पनि बेपत्ता भएका हुन् ।

नहरमा बेपत्ता भएको उनीहरुको शरीर नहरभन्दा करिब दुई सय मिटर तल भेटिएको थियो । उद्धारका लागि अस्पताल लग्दा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाँकेमा पनि तीन जना युवाको नहरमा नै डुबेर मृत्यु भएको छ । उनीहरुको कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–११ श्रृष्टि हल नजिक बस्ने १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ छन् ।


बकर इदको अवसरमा रमाइलो गर्न भन्दै उनीहरु बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका थिए । सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।